बैतडीका मतदान अधिकृतहरु आजबाट मतदान केन्द्रमा जादैं छन। फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीका २१५ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरू आवश्यक सामग्रीसहित आजबाट सम्बन्धित केन्द्रतर्फ प्रस्थान गरिरहनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो।
निर्वाचनका लागि छनोट गरिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दुई दिनसम्म विशेष तालिम समेत प्रदान गरिएको थियो। तालिममा मतदान प्रक्रिया, मतपत्र व्यवस्थापन, सुरक्षा सतर्कता तथा आचारसंहिता सम्बन्धी विषय समेटिएका थिए।
जिल्लामा निर्वाचन सम्पन्न गर्न कुल १ हजार २८८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रत्येक स्थायी मतदान केन्द्रमा ३ जना कर्मचारी खटाइएका छन्। बैतडीमा एक निर्वाचन क्षेत्र रहेको छ, जहाँ ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
जिल्लामा कुल १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्। जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ जना अन्य मतदाता रहेका छन्। यसैगरी, २ हजार ७० जना अस्थायी मतदाता रहेका छन्।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीसमेत आवश्यक संख्यामा परिचालन गरिएको जनाइएको छ।