निर्वाचन प्रहरी राजेन्द्र प्रसाद भट्टको निधनपछि परिवारलाई सहयोग

बैतडी: मेलौलीमा केही दिनअघि निधन भएका निर्वाचन प्रहरी राजेन्द्र प्रसाद भट्टका परिवारलाई सहयोग प्रदान गरिएको छ।

३८ वर्षीय भट्टको घरमै पुगेर कपडा बैंक बैतडीले कम्बल, रासन तथा केही नगद सहयोग हस्तान्तरण गरेको हो। बैंकका संयोजक महेश दत्त भट्टका अनुसार शोकाकुल परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त सहयोग गरिएको हो।

यसअघि मात्र ईलाका प्रहरी कार्यालय मेलौलीका इन्चार्ज नरेन्द्र बहादुर चन्दसहित नेपाल प्रहरी र निर्वाचन सुरक्षामा खटिएका प्रहरीको संयुक्त टोलीले पनि ८ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग परिवारलाई हस्तान्तरण गरेको थियो।

भट्ट फागुन ११ गते साँझ ड्युटी सकेर घर फर्किएपछि अचानक बेहोस भएका थिए। तत्काल एम्बुलेन्समार्फत उनलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। उपचारका लागि स्वास्थ्य केन्द्रमा लगिए पनि चिकित्सकले राति १२ बजेर ५ मिनेटमा मृत घोषणा गरेका थिए।

स्वर्गीय भट्टको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने विभिन्न निकायबाट सहयोग र समवेदना प्रकट गर्ने क्रम जारी रहेको छ।

Leave A Reply

Your email address will not be published.