भोली हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी बैतडीमा पूरा भएको छ। जिल्लाका एक अस्थायीसहित २ सय १५ ओटै मतदान केन्द्रमा मतपत्र र निर्वाचन सामग्रीसहित कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले बताए। सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगेर आवश्यक तयारी गरिरहेका उनले बताए।
मतदानमा केन्द्रमा खटाएका मतदान अधिकृत,सहायक मतदान अधिकृत, सहायक कर्मचारी लगायतले निर्वाचनसम्बन्धी आवश्यक कामहरु सम्पादन गरिरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए। मतदान केन्द्रमा कर्मचारीहरुले सूचना टाँस गर्ने, मुचुल्का उठाउने, सर्वदलीय बैठक आयोजना गर्ने र मतदान केन्द्र व्यवस्थापनको काम गरिरहेका जिल्ला निर्वाचन अधिकारी भारतीले बताए।
प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन्। यहाँ १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। यस्तै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाभरी २ हजार ७ सय सुरक्षाकर्मी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।
जिल्लाका १० ओटै स्थानीय तहमा नेपाली सेनाले बेस क्याम्प सञ्चालनमा ल्याएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी आवश्यकता अनुसार खटाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।