बैतडीमा विभिन्न विद्यालय, क्लब, आमा समूहलगायतले सामूहिक रुपमा होली खेलेर आर्थिक संकलन गरेका छन्।
विद्यालयमा निजीस्रोतबाट भर्ना गरिएका शिक्षकको तलब र अन्य खर्च व्यवस्थापनको लागि हरेक वर्ष विद्यालयबाट गाउँगाउँमा गएर होली खेल्ने गरेको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका प्रधानाध्यपक प्रकाश महराले बताए।
विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी मिलेर हरेक बर्ष होली खेल्दै आएको प्रधानाध्यापक महराले बताए। यो बर्ष होली खेलेर ६५ हजार रुपैयाँ संकलन गरिएको उनले बताए। उक्त रकम विद्यालयका शिक्षकहरुको तलबमा खर्च गरिने बताइएको छ। सिद्धेश्वर माविमा पाँच जना निजी श्रोतका शिक्षक कार्यरत रहेका छन्।
संस्कृति संरक्षणका साथै विद्यालयमा शिक्षकको तलबको जोहो गर्न विभिन्न विद्यालयहरुले होली खेल्ने गरेको विद्यालय व्यवस्थापन समिति महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राजु भट्टले बताइन्। अधिकांश विद्यालय निजी श्रोतमा सञ्चालन भएकाले होली लगायतका कार्यक्रमबाट रकम संकलन गर्ने गरिएको उनले बताइन्।
यस्तै दोगडाकेदार गाउँपालिका–२ स्थित रौलेश्वर मावि कफलकोटले होली खेलेर १ लाख ६ सय रुपैयाँ संकलन गरिएको छ। उक्त रकम बालविकास कक्षा सुधार र खेलकुद क्षेत्रको विकासमा खर्च गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयराज भट्टले बताए।
यस्तै सुर्नया गाउँपालिका–५ स्थित सिद्धनाथ आधारभूत विद्यालयले पनि होली खेलेर रकम संकलन गरेको विद्यालयले जनाएको छ। सिगास गाउँपालिका–९ जालहाल्लास्थित हिमालय आमा समूहले होली खेलेर १९ हजार रुपैयाँ संकलन गरेको समूहकी अध्यक्ष दिव्यश्वरी मल्ल चन्दले बताइन् । उक्त रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताइन्।
यस्तै दशरथचन्द नगरपालिका–१ स्थित सत्यं शिवं सुन्दरम् समाजले यो बर्ष पनि होली खेलेको समाजका अध्यक्ष भुवन भट्टले बताए। होलीबाट संकलित रकम हरेक बर्ष सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको अध्यक्ष भट्टले बताए।