बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्ण वातावरणमा जारी रहेको छ।
जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाता उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार बिहान ११ बजेर ३५ मिनेटसम्म २२ हजार ६३६ मत खसकाे छ।
जसमा ११ हजार ४४७ महिला र ११ हजार १८८ पुरूष र १ जना अन्यले मत खसाली सक्नुभएकाे छ। बैतडीमा रहेका २१५ मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया जारी रहेको छ। जिल्लामा एक निर्वाचन क्षेत्र रहेको छ, जहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन्।
जसमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र २ जना अन्य मतदाता रहेका छन्। यसका साथै २ हजार ७० जना अस्थायी मतदाता पनि रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ।