बैतडीका सबै पालिकामा नेपाली कांग्रेसले चुनावी समिक्षा गर्ने

बैतडी: नेपाली कांग्रेस बैतडीले प्रतिनिधि सभा निर्वाचनपछि जिल्लाभर चुनावी समिक्षा, भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सञ्चालन गर्ने भएको छ। नेपाली कांग्रेस बैतडीका सभापति तथा बैतडीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका चतुर बहादुर चन्दको नेतृत्वमा जिल्लाका सबै १० वटै स्थानीय तहमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

जिल्ला सचिव प्रेम बहादुर चन्दका अनुसार कार्यक्रम फागुन २६ गतेबाट सुरु हुनेछ। सो दिन पञ्चेश्वर गाउँपालिकाको आमचोरा र शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम तय गरिएको छ।

यस्तै, फागुन २७ गते मेलौली नगरपालिकाको काडाँबजार र पाटन नगरपालिकाको पाटन बजारमा कार्यक्रम सञ्चालन गरिनेछ भने फागुन २८ गते सिगास गाउँपालिकाको गर्जे बजारमा कार्यक्रम हुनेछ। फागुन २९ गते पुर्चौडी नगरपालिकाको हाट बजारमा तथा फागुन ३० गते डिलाशैनी गाउँपालिकाको धामीगाउँमा कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, चैत्र १ गते दोगडाकेदार गाउँपालिकाको खिरिगाउँ र सुर्नया गाउँपालिकाको डुङरीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रमको अन्तिम दिन चैत्र २ गते दशरथचन्द नगरपालिकास्थित पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न गरिने सचिव चन्दले जानकारी दिए।

यसैबीच, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गरेका हुन्।

निर्वाचनको अन्तिम परिणाम अनुसार हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गरेका छन् भने चतुर बहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै, लगातार तीन पटक बैतडीबाट निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी यसपटक १७ हजार ९१ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

निर्वाचन कार्यालयका अनुसार बैतडीमा कुल ७२ हजार ८ सय ४३ मत खसेको थियो भने ५ हजार १ सय १३ मत बदर भएको थियो।

May be an illustration of map and text

Leave A Reply

Your email address will not be published.