बैतडीमा एमालेको ‘धन्यवाद यात्रा’, सबै स्थानीय तहमा चुनावी समीक्षा हुँदै

बैतडी: नेकपा एमाले बैतडीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै मतदातालाई धन्यवाद ज्ञापन गर्न जिल्लाका १० वटै स्थानीय तहमा कार्यक्रम आयोजना गर्ने भएको छ।

प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट उम्मेदवार बनेका दामोदर भण्डारीको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला अध्यक्ष नरेश कुमार विश्वकर्माले जानकारी दिए। उनका अनुसार कार्यक्रमहरू फागुन २७ गतेदेखि सुरु भएर चैत्र ३ गतेसम्म सञ्चालन हुनेछन्।

कार्यक्रम तालिका अनुसार फागुन २७ गते दोगडाकेदार गाउँपालिकाको खेचलोक र डिलाशैनी गाउँपालिकाको पंसेरा क्षेत्रमा कार्यक्रम हुनेछ। त्यसैगरी फागुन २८ गते पुर्चौडी नगरपालिकाको हाटमा, फागुन २९ गते सिगास गाउँपालिकाको गर्जेमा कार्यक्रम आयोजना गरिनेछ।

फागुन ३० गते सुर्नया गाउँपालिकाको शैलेश्वरमा कार्यक्रम हुने तय गरिएको छ। यस्तै, चैत्र १ गते पञ्चेश्वर गाउँपालिकाको आमचोरा र शिवनाथ गाउँपालिकाको सुल्लेखानमा कार्यक्रम आयोजना गरिनेछ। चैत्र २ गते मेलौली नगरपालिकाको पार्टी कार्यालय र पाटन नगरपालिकाको सभाहलमा कार्यक्रम सञ्चालन हुनेछ भने चैत्र ३ गते दशरथचन्द नगरपालिकाको जिल्ला पार्टी कार्यालयमा कार्यक्रम गरी अभियान समापन गरिने जनाइएको छ।

यसैबीच, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्दलाई ३ हजार ९ सय ४० मतान्तरले पराजित गरेका हुन्।

निर्वाचनको अन्तिम परिणाम अनुसार हरिमोहन भण्डारीले २२ हजार १ सय ३४ मत प्राप्त गरेका छन् भने चतुर बहादुर चन्दले १८ हजार १ सय ९४ मत प्राप्त गरेका छन्। यस्तै, लगातार तीन पटक बैतडीबाट निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी यसपटक १७ हजार ९१ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।

निर्वाचन कार्यालयका अनुसार बैतडीमा कुल ७२ हजार ८ सय ४३ मत खसेको थियो भने ५ हजार १ सय १३ मत बदर भएको थियो।

No description available.

Leave A Reply

Your email address will not be published.