बैतडीबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दले आफ्नो चुनावी खर्च सार्वजनिक गर्दै निर्वाचन आयोगमा पेश गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३२ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरण उनले जिल्ला निर्वाचनमा कार्यालयमा पेश गरेका हुन् ।
उम्मेदवार चन्दले पेश गरेको निर्वाचन खर्च विवरणमा सवारी साधनमा ३ लाख २० हजार, मतदाता प्रशिक्षण कार्यक्रमका लागि ८ लाख ८५ हजार, वडास्तरीय प्रचारप्रसारमा ३ लाख ७५ हजार, सामाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ७५ हजार, सम्पर्क कार्यालय स्थापनामा ४ लाख ७५ हजार, स्टेशनरीमा २ लाख ६५ हजार, प्रचारप्रसार सामग्रीमा ४ लाख ५० हजार,नमूना मतपत्र छपाइमा २ लाख ७५ हजार, उम्मेदवार मनोनयनमा १० हजार र खाना ६५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।
जिल्ला निर्वाचन कार्यालयले उम्मेदवारहरुलाई आम्दानी र खर्चको विवरण पेश गर्नका लागि सूचना जारी गरेको र अहिलेसम्म कांग्रेस उम्मेदवार चन्दले मात्रै खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ को उपदफा ९४० बमोजिम उम्मेदवारहरुले अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण पेश गर्नुपर्ने प्रावधान रही आएको छ। बैतडीमा ११ जना उम्मेदवार रहेका थिए।