बैतडीको शिवनाथ गाउँपालिका–०६ कानलीका अर्जुन पार्कीका डेढ महिनाका छोराको उपचारमा गम्भीर समस्या देखिएको छ। जन्मिएलगत्तै बालकको टाउकोमा पानी जम्ने समस्या देखिएपछि परिवार अहिले गहिरो चिन्तामा परेको छ।
गत भाद्र महिनामा डडेल्धुरा अस्पतालमा जन्मिएका ती बालकको टाउकोमा पानी जमेर अस्वाभाविक रूपमा ठूलो भएको परिवारले जनाएको छ। जन्मपछि दिन प्रतिदिन टाउकोको आकार बढ्दै गएपछि बालकलाई विभिन्न ठाउँमा लगेर उपचार गराइएको थियो।
उपचारपछि अहिले बालकको स्वास्थ्यमा केही सुधार देखिएको परिवार बताउँछ। तर चिकित्सकका अनुसार नयाँ वर्षतिर बालकको पूर्ण शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने भएकाले परिवार थप चिन्तित बनेको छ।
अहिलेसम्म बालकको उपचारमा करिब तीन लाख रुपैयाँ खर्च भइसकेको छ। सामान्य आर्थिक अवस्थाका कारण आगामी उपचार खर्च जुटाउन परिवारलाई निकै कठिन भएको छ।
बालककी हजुरआमा च्याउरी पार्कीले भावुक हुँदै सबै सहयोगी मनहरूलाई बालकको जीवन बचाउन सहयोग गरिदिन आग्रह गर्नुभएको छ। “हामीले सक्दो प्रयास गरिरहेका छौं, तर अब एक्लै सम्भव भएन। मेरो नातिको जीवन बचाउन सबैको सानो–सानो सहयोगले ठूलो सहारा मिल्नेछ,” उहाँले भन्नुभयो।
बालकको उपचारका लागि इच्छुक सहयोगीहरूले थप जानकारी लिन तथा सहयोग गर्न ९७६३८१५७३४ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ। साथै उपलब्ध गराइएको क्यूआर कोडमार्फत पनि सहयोग गर्न सकिने बताइएको छ।
एक नाबालकको जीवन बचाउने यस संवेदनशील घडीमा सबै दयालु मनहरूबाट सहयोगको अपेक्षा गरिएको छ। सानो सहयोगले एउटा परिवारको आशा र एउटा बालकको जीवन जोगिन सक्छ।
