बैतडी: मंगलबारदेखि चुनावी समीक्षा र मतदाता भेटघाटमा जुटेको कांग्रेस बैतडीले आज पाटन र मेलौलीमा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। हिजो शिवनाथ र पञ्चेश्वरमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए।
भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले पराजय व्यहोरेको छ। नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीसँग पराजित भएका थिए । उक्त निर्वाचनमा रास्वपा उम्मेदवार भण्डारीले २२ हजार १३४ मत ल्याएर जित निकालेका थिए। कांग्रेस उम्मेदवार चन्दले १८ हजार १९४ मत ल्याएका थिए।
चुनावी समीक्षा कार्यक्रममा पार्टी पराजय हुनुको कारणका बिषयमा घनिभुत रुपमा छलफल गर्नुका साथै मतदाताहरुसँग भेटघाट गर्ने गरिएको सचिव चन्दले बताए। पार्टी सभापति एवं उम्मेदवार चतुरबहादुर चन्दसहितको सहभागितामा समीक्षा कार्यक्रम सञ्चालन भइरहेको हो। मतदाताहरुलाई धन्यवाद दिनका लागि प्रत्येक पालिकामा कार्यक्रमको आयोजना गरिएको उनले बताए।
नेपाली कांग्रेसले पार्टीभित्रकै अन्तर्घातका कारण यो चुनावमा पराजय व्यहोरेको निष्कर्ष समेत निकालेको छ। चुनावी समीक्षा कार्यक्रममा यो बिषयमा समेत छलफल भइरहेको बताइएको छ।
भोलि बिहान ११ बजे सिगास गाउँपालिकाको गर्जे, फागुन २९ गते दिउँसो १२ बजे पुर्चौंडी नगरपालिकाको हाट, फागुन ३० गते बिहान ११ बजे डिलाशैनी गाउँपालिकाको धामीगाउँ, आगामी चैत १ गते बिहान ११ बजे दोगडाकेदार गाउँपालिकाको खिरीगाउँ र दिउँसो ३ बजे सुर्नया गाउँपालिकाको डुङरीमा चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जनाइएको छ।
यस्तै चैत २ गते बिहान ११ बजे दशरथचन्द नगरपालिकाको चुनावी समीक्षा कार्यक्रम पार्टी कार्यालय गोठलापानी गरिने कांग्रेस बैतडीले जनाएको छ।