बैतडी: प्रतिनिधि सभा सदस्य निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीमा मतदाता भेटघाट र धन्यवाद कार्यक्रम सञ्चालनमा ल्याएको छ। राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दसहितको टोली सबै पालिकामा पुग्ने गरेर कार्यक्रम तय गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए।
राप्रपाले यो चुनावमा कम्तीमा १० हजार मत ल्याउने अपेक्षा गरेको भएपनि प्रत्यक्षतर्फ २ हजार ६८१ मतमा खुम्चिएको छ। विभिन्न कारणले राप्रपाका मत प्रभावित भएका अध्यक्ष भट्टले बताए। राप्रपाले समानुपातिकतर्फ पनि ३ हजार ४७१ मतमात्रै ल्याएको छ।
चुनावको नतिजा सोचे अनुरुप नआएको भएपनि मतदाताहरुसँग उम्मेदवारसहित भेटघाटमा जुटेको अध्यक्ष भट्टले बताए। आफूहरुको स्पष्ट एजेण्डा भएकाले मतदाताहरुलाई धन्यवाद दिन सबै पालिकामा पुग्ने योजना रहेको उनले सुनाए। आज मेलौली र शिवनाथमा कार्यक्रमको आयोजना गरेको राप्रपाले भोलि पञ्चेश्वर र पाटनमा भेटघाट कार्यक्रम राखेको छ।
यस्तै फागुन २९ गते दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिका, फागुन ३० गते दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिका, चैत १ गते पुर्चौंडी नगरपालिका र चैत २ गते सिगास गाउँपालिकामा भेटघाट कार्यक्रम तय गरिएको राप्रपाका सम्पर्क समाज केन्द्रीय सदस्य केशवबहादुर चन्दले बताए। चुनावको समयमामात्रै नभएर राप्रपाले अब निरन्तर रुपमा जिल्लाबासीहरुसँग भेटघाट गर्ने योजना बनाएको अध्यक्ष भट्टले दाबी गरे।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लामा पुरानो साख फर्काउने योजनासहित आफूहरु लागिपर्ने उनले बताए।