बैतडी: हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजय व्यहोरेपछि बैतडीका प्रमुख राजनीतिक दलहरू चुनावी समीक्षा र मतदाता भेटघाट कार्यक्रममा जुटेका छन्।
जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्लाका प्रत्येक पालिकामा पुगेर मतदातासँग भेटघाट गर्दै निर्वाचनको समीक्षा गरिरहेका छन्। साथै निर्वाचनमा मत दिने मतदातालाई धन्यवाद पनि व्यक्त गरिरहेका छन्।
दलहरूले जिल्लाका सबै पालिकामा समीक्षा कार्यक्रम सञ्चालन गर्दै चुनावी नतिजाको विश्लेषण गरिरहेका छन्। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताबीच निर्वाचनमा पराजय हुनुका कारण, संगठनको अवस्था तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ।
नेपाली कांग्रेस बैतडीका अनुसार समीक्षा कार्यक्रममा पार्टी पराजित हुनुका कारणबारे गहन रूपमा छलफल भइरहेको छ। साथै मतदातासँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन गर्ने कार्य पनि भइरहेको जनाएको छ।
राजनीतिक दलहरूले आगामी दिनमा संगठनलाई सुदृढ बनाउँदै मतदाताको विश्वास जित्ने उद्देश्यले जिल्लाभर समीक्षा र भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन्। बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी भएका भएका छन। निर्वाचित भएपछि भण्डारी पनि मतदातालाई धन्यबाद दिन प्रत्येक पालिका पुगिरहेका छन।