बैतडीको पुर्चौंडी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुले ६ महिनादेखि तलब पाउन सकेका छैनन्। नगरपालिकाले गत असोजदेखि तलब नदिएको हाट स्वास्थ्यचौकीमा कार्यरत ल्याब असिटेन्ट डम्मरबहादुर कुँवरले बताए।
नगरपालिकाले करार सेवाका कर्मचारीहरुलाई निरन्तरता दिने निर्णय गरेको भएपनि आफूहरुलाई अहिलेसम्म नियुक्ती समेत नदिएको कुँवरले बताए। नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा कार्यरत करार कर्मचारीहरुलाई स्वास्थ्यचौकी प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएर हड्ताल शुरु गरेको कुँवरले बताए।
हाट स्वास्थ्यचौकीमा कार्यरत ल्याब टेक्निसियन सुरेन्द्र पुजाराको संयोजकत्वमा करार कर्मचारीहरुले संघर्ष समिति समेत गठन गरेका छन्। आज आफू कार्यरत स्वास्थ्य संस्थाका प्रमुखलाई ज्ञापन पत्र बुझाएर आन्दोलनको शुरुवात गरिएको ल्याब असिष्टेन्ट कुँवरले बताए। स्वास्थ्य सेवाका करार कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा नियुक्ती नदिएको, तलब नदिएको र करार सम्झौतासमेत रद्द नगरी आफूहरूलाई वेवास्ता गरिएको गुनासो गरिएको छ ।
करार सेवामा कार्यरत प्रयोगाशालाकर्मी र अन्य स्वास्थ्यकर्मीहरुलाई नगरपालिकाले नियुक्ती र तलब नदिँदा समस्या उत्पन्न भएको हाट स्वास्थ्यचौकीका प्रमुख दिपेन्द्रबहादुर धामीले बताए। यता पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जेनजी आन्दोलनपछि निर्माण भएको सरकारले स्वीकृत दरबन्दी भन्दा बाहेकका कर्मचारीले तलब भत्ता नखुवाउन परिपत्र गरेकाले नियुक्ति दिएर तलब खुवाउन समस्या भएको बताए।
उनले नगरपालिकाले भर्ना गरेका करिब विभिन्न सेवाका करिब १५० जना कर्मचारीलाई असोजदेखि तलब खुवाउन समस्या भएको बताए। करार कर्मचारीका बिषयमा विभिन्न मुद्दामामिला समेत भएकाले यो बिषयमा थप जटीलता उत्पन्न भएको कुँवरले बताए। स्वास्थ्यकर्मीमात्रै नभएर अन्य सेवाका करार कर्मचारीहरुलाई काम गर्नका लागि नगरपालिकाले नखटाएको उनले बताए।