बैतडीको मेलाैलीमा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न

बैतडीको मेलाैली नगरपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को प्रगति तथा उपलब्धिहरूको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

मेलाैली नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीकाे अध्यक्षता तथा नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नगर क्षेत्रभित्र सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तर अभिवृद्धि, नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहभागीहरूले आफ्ना धारणा राखेका थिए।

त्यसैगरी, स्वास्थ्यकर्मीहरूले सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा समाधानका उपायहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चन्दले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले यसको गुणस्तर सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी दिनमा स्वास्थ्य सेवामा थप सुधार ल्याउन आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले आगामी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गदर्शन गर्ने विश्वास लिइएको छ।

Leave A Reply

Your email address will not be published.