बैतडीको पञ्चेश्वर गाउँपालिका–०४ शैलोडामा रहेको जवलपुर माध्यमिक विद्यालयले नयाँ प्रधानाध्यापक पाएको छ। सोही विद्यालयमा कार्यरत शिक्षक बिनोद प्रसाद भट्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश दत्त भट्टले जानकारी दिनुभयो।
नवनियुक्त प्रधानाध्यापक भट्टले विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। “मलाई दिइएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालयलाई शैक्षिक, भौतिक तथा व्यवस्थापकीय रूपमा अगाडि बढाउने लक्ष्य लिएको छु,” उहाँले भन्नुभयो।
उहाँका अनुसार विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने, अनुशासन कायम गर्ने, नियमित कक्षा सञ्चालनमा जोड दिने तथा आधुनिक शिक्षण विधि प्रयोग गर्ने योजना रहेको छ। साथै, शिक्षक–अभिभावकबीच समन्वय बढाउँदै विद्यार्थीमैत्री वातावरण सिर्जना गरिने पनि उहाँले बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिले नयाँ नेतृत्वसँगै विद्यालयको समग्र विकासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेको छ। अध्यक्ष भट्टका अनुसार आगामी दिनमा भौतिक पूर्वाधार सुधार, सूचना प्रविधिको प्रयोग विस्तार तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाइनेछ।
स्थानीय अभिभावक तथा सरोकारवालाले पनि नयाँ प्रधानाध्यापकको नियुक्तिसँगै विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने अपेक्षा गरेका छन्।