सशस्त्र प्रहरीको २५ वर्ष: बैतडीमा विविध जनहितका कार्यक्रम सम्पन्न

बैतडी : सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनीको २५ औँ वार्षिकोत्सवको अवसरमा नम्बर ५१ गुल्म हेडक्वार्टर बैतडीले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ।

वार्षिकोत्सवको उपलक्ष्यमा गुल्मले सीमावर्ती क्षेत्रहरूमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै विभिन्न मठमन्दिरहरूमा सरसफाइ कार्यक्रम पनि आयोजना गरेको थियो। यसैगरी जिल्ला अस्पतालमा उपचाररत १५ जना बिरामीहरूलाई फलफूल वितरण गरिएको ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख, सशस्त्र प्रहरी नायब उपरिक्षक जंग बहादुर कुँवरले जानकारी दिनुभयो।

त्यसैगरी अनाथालय तथा छात्रावासमा बसोबास गर्दै आएका बालबालिकाहरूलाई खाजा तथा फलफूल वितरण गरी सहयोग गरिएको छ। समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सीमा अपराध तथा लागुऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको थियो।

यसका अतिरिक्त ग्यास सिलिन्डरबाट हुने सम्भावित आगलागी नियन्त्रणका विषयमा डेमो प्रदर्शन गरी सर्वसाधारणलाई आवश्यक जानकारी प्रदान गरिएको गुल्मले जनाएको छ। यस्ता कार्यक्रमहरूले सशस्त्र प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै सामाजिक उत्तरदायित्व बहनमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.