बैतडीको मेलौली नगरपालिका–०९ मा रहेको बिशालपुर स्वास्थ्य चौकीमा नसर्ने रोग सम्बन्धी परीक्षण, स्वास्थ्य सचेतना परामर्श तथा शिविर सञ्चालन गरिएको छ। शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
शिविरका क्रममा रक्तचाप, मधुमेह ९सुगर०, मृगौला रोगको स्क्रिनिङ, दीर्घ स्वासप्रश्वास सम्बन्धी रोग, क्यान्सर तथा हृदय रोगको जोखिम न्यूनीकरणका लागि परामर्श सेवा प्रदान गरिएको थियो। साथै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा निःशुल्क औषधि वितरण पनि गरिएको स्वास्थ्य चौकीले जनाएको छ।
शिविरबाट कुल ११० जनाले सेवा लिएका छन्। तीमध्ये ८३ जना महिला र २७ जना पुरुष रहेका छन्। विशेषगरी ग्रामीण क्षेत्रमा बढ्दै गइरहेका नसर्ने रोगको पहिचान तथा समयमै उपचारमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा सम्पन्न उक्त शिविरले स्थानीय स्तरमै स्वास्थ्य सेवा पहुँचमा सहजता ल्याएको सहभागीहरूले बताएका छन्। स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवराज सिंह नायकका अनुसार यस्ता कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।