बैतडीको मेलौली नगरपालिकाले आधारभूत तह कक्षा ८ को नियमित परीक्षा २०८२ को नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाले चैत ५ गतेदेखि सञ्चालन गरेको नगरस्तरीय परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
परीक्षामा जम्मा ४३२ जना विद्यार्थी सहभागी भएकोमा २०२ जना मात्र उत्तीर्ण भएका छन्। नगरपालिकाले जारी गरेको सूचनाअनुसार परीक्षाको विस्तृत नतिजा सम्बन्धित विद्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ।
विद्यालयलाई नगरपालिकाले प्रमाणित गरी उपलब्ध गराएको ग्रेड लेजरका आधारमा विद्यार्थीहरूले आफ्नो नतिजा हेर्न सक्ने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर धामीले जानकारी दिनुभयो। प्रमाणित ग्रेड लेजर यही चैत २० गतेदेखि वितरण गरिने जनाइएको छ।
यस्तै, परीक्षार्थीको ग्रेड सिट तथा कक्षा ९ मा भर्ना हुन योग्य विद्यार्थीहरूको मूल प्रमाणपत्र बैसाख ५ गतेपछि सम्बन्धित विद्यालयमार्फत उपलब्ध गराइने कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले बताउनुभयो। यसैबीच, नतिजा चित्त नबुझेका परीक्षार्थीहरूले प्राप्ताङ्क पुनर्योगका लागि चैत २८ गतेसम्म सम्बन्धित विद्यालयको सिफारिससहित नगरपालिकामा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले परीक्षाको नतिजालाई थप प्रभावकारी र पारदर्शी बनाउन यस प्रकारको व्यवस्थापन गरिएको जनाएको छ। साथै, आगामी शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, अभिभावक तथा विद्यार्थी सबै पक्षलाई जिम्मेवार र सचेत बन्न आग्रह गरिएको छ।
नतिजा!

