बैतडी: महाकाली नदीमा बगेर बेपत्ता भएका एक वृद्ध पुरुषको खोजी कार्य जारी रहेको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द मंगलबार बिहान करिब साढे ११ बजेतिर हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
घटनापछि तत्कालै स्थानीय बासिन्दा र सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हालसम्म चन्दको अवस्था अज्ञात रहेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंग बहादुर कुँवरका अनुसार सशस्त्र प्रहरीको टोली निरन्तर रूपमा खोजी कार्यमा खटिएको छ।
माहाकालीमा पानि धेरै हुने भएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। सम्भावित स्थानहरूमा गोताखोर टोली परिचालन गर्नुका साथै नदी किनार आसपासका क्षेत्रहरूमा समेत व्यापक खोजी भइरहेको छ।
यसैबीच, घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै भारतीय पक्षसँग पनि समन्वय गरिएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँग सहकार्य गरी र्याफ्टिङमार्फत नदीको तल्लो भागमा समेत खोजी कार्य तीव्र पारिएको जनाइएको छ।
स्थानीय प्रशासनले नागरिकहरूलाई नदीमा नुहाउँदा वा अन्य गतिविधि गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, बेपत्ता व्यक्तिको खोजी कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै संयन्त्र परिचालन गरिएको जनाइएको छ।
परिवारजन भने चन्दको सकुशल उद्धारको प्रतीक्षामा रहेका छन्।