बैतडीमा सशस्त्र प्रहरीको मानवीय कार्य, सुत्केरीलाई रक्तदान

बैतडीमा सशस्त्र प्रहरी बलका एक जवानले आपतकालीन अवस्थामा रक्तदान गरी सुत्केरी महिलाको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

आज दिउँसो करिब १ बजेको समयमा जिल्ला अस्पताल बैतडीमा दशरथचन्द नगरपालिका–०४ बिनासौं निवासी सन्तोस कार्कीकी श्रीमती रोशनी बिष्ट कार्की सुत्केरीका लागि भर्ना भएकी थिइन्। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि तत्काल ‘ए प्लस’ रगत आवश्यक परेको अस्पतालले जनाएको थियो।

रगत अभाव भएको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीमा काजमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार गोपालसिंह कार्कीले तुरुन्तै रक्तदान गरेका थिए।

उनको समयमै गरिएको रक्तदानले सुत्केरी महिलाको ज्यान बचाउन सहयोग पुगेको अस्पताल स्रोतले जनाएको छ। उक्त कार्यको प्रशंसा गर्दै शस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले मानव सेवामा सशस्त्र प्रहरी सधैं तत्पर रहने बताएका छन्।

स्थानीयवासीहरूले पनि सशस्त्र प्रहरीको यस मानवीय कार्यको सराहना गरेका छन्।

Leave A Reply

Your email address will not be published.