बैतडीका स्वास्थ्यचौकी प्रमुख लुहार कुटपिट प्रकरणमा पक्राउ

बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहार धनगढीमा पक्राउ परेका छन। आफ्नै स्वास्थ्य संस्थामा कार्यरत अनमी माया भट्टमाथि कुटपिट गरेको आरोपमा लुहारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार लुहारले धनगढी उपमहानगरपालिका–१ अदालत रोड क्षेत्रमा भट्टमाथि इट्टा प्रहार गरी टाउको र हातमा चोट पु¥याएका थिए। स्थानीयवासीले अनमीमाथि कुटपिट भइरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थलमै पुगेको प्रहरी टोलीले लुहारलाई नियन्त्रणमा लिएको जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले पीडित पक्षको निवेदनका आधारमा लुहारलाई हिरासतमा राखिएको जानकारी दिए। घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको उनले बताए।

पीडित माया भट्टले आफू शनिबार मात्रै धनगढी पुगेको बताउँदै घटनाको पृष्ठभूमिबारे जानकारी दिएकी छन्। उनका अनुसार उनी कोटिलाबाट डडेल्धुरासम्म सुमन लुहारसँगै गएकी थिइन् त्यसपछि दुवै जना छुट्टाछुट्टै धनगढी पुगेका थिए। भट्टका अनुसार अर्का सहकर्मी लोगबहादुर महरासँग फोनमा कुराकानी गरेको विषयलाई लिएर लुहारले विवाद शुरु गरेका थिए 

भट्टले लुहारसँग आर्थिक लेनदेनसम्बन्धी विवाद पनि रहेको खुलाएकी छन्। उनका अनुसार लुहारले आफूलाई करिब १५–१६ लाख रुपैयाँ दिन बाँकी रहेको छ, जुन रकम उनले व्याजमा लगानी गरेको बताएकी छन्। पीडितका श्रीमान् वीरेन्द्र ऐर भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेको जनाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.