बैतडी-बैतडी जिल्लाको मेलौली नगरपालिका–७ मर्छलेमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। मंगलबार अपराह्न करिब ४:३० बजे भएको उक्त दुर्घटनामा चालकसहित तीन जना घाइते भएका हुन्।
दुर्घटनामा शिवनाथ गाउँपालिका–६ बस्ने २७ वर्षीय चालक भरत दयाल, सोही स्थानका २८ वर्षीय महेश सुतार र २६ वर्षीय जयराज दयाल घाइते भएका छन्। महेश सुतार टाउको र आँखामा चोट लागेको छ भने जयराज दयालको टाउको तथा छातीमा चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने चालक भरत दयालको अवस्था सामान्य रहेको छ।
घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कञ्चनपुरबाट बैतडीको शिवनाथ गाउँपालिका तर्फ जाँदै गरेको HR55AH 9833 नम्बरको भारतीय नम्बर प्लेटको कार एक्कासी अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तस्वदेही बैतडीबाट बरिष्ठ हवल्दार हर्कराज जोशीको कमाण्डमा खटिएको ५ सदस्यीय प्रहरी टोली अपराह्न ४:५० बजे घटनास्थलमा पुगेको थियो।