डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ। परशुराम नगरपालिका–२ का सात बर्षीय युवराज बुढामगरको झाडापखालाबाट मृत्यु भएको जोगबुडा प्रादेशिक अस्पतालले जनाएको छ।
एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला भएपछि अस्पताल लैजाने क्रममा युवराजको बाटोमै मृत्यु भएको हो। जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन्।
उनीहरूको हाल उपचार भइरहेको छ। तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए। झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए। प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ।
अस्पतालमा उपचार गराइरहेकाहरुको अवस्था भने समान्य रहेको बताइएको छ।