बैतडी – खनिज पदार्थ र खानीजन्य वस्तुको प्रचुर सम्भावना बोकेको बैतडी जिल्लामा रहेका उद्योग तथा खानी परियोजनालाई तत्काल कार्यान्वयनमा लैजान माग गर्दै जिल्लाबासीले सरकारसमक्ष ज्ञापन–पत्र पेश गरेका छन् ।
ज्ञापन–पत्रमा बैतडीमा फलाम, तामा, सुनदेखि युरेनियमसम्मका खानीजन्य पदार्थ रहेको विभिन्न अध्ययनले देखाएको उल्लेख गर्दै ती सम्पदाको उपयोग गर्न नसक्दा जिल्ला र सुदूरपश्चिम प्रदेशकै आर्थिक विकास प्रभावित भएको जनाइएको छ ।
बैतडीको पुरचौंडी क्षेत्रमा विगतमा फलामको धाउ उत्खनन् गरेर स्थानीय स्तरमै विभिन्न सामग्री निर्माण गरिने गरिएको भए पनि द्वन्द्वकालपछि त्यो कार्य बन्द भएको स्मरण गराइएको छ । यस्तै, सिगास गाउँपालिकामा सतहमै फलाम खानी भेटिएको पाँच वर्ष बितिसक्दा पनि उत्खनन् प्रक्रिया अघि बढ्न नसकेको गुनासो गरिएको छ ।
ज्ञापन–पत्रमा दोगडाकेदार र सुर्नया गाउँपालिकाको सीमामा ३० अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न निजी क्षेत्र तयार भए पनि सरकारी उदासीनताका कारण काम अघि बढ्न नसकेको उल्लेख छ । अध्ययनपछि उद्योग स्थापना प्रक्रिया सुरु हुनुपर्ने भए पनि सम्बन्धित निकायबाट आवश्यक सहजीकरण नभएको आरोप लगाइएको छ ।
नेपालगञ्ज पश्चिम क्षेत्रमा कुनै सिमेन्ट उद्योग नरहेको र भारतको उत्तराखण्डसम्म सिमेन्ट निर्यात गर्न सकिने सम्भावना रहेको भन्दै परियोजना कार्यान्वयनमा ढिलाइ नगर्न माग गरिएको छ । उद्योग सञ्चालन भए हजारौं युवाले रोजगारी पाउने र सुदूरपश्चिमको गरिबी न्यूनीकरणमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै, दोगडाकेदार क्षेत्रमा रासायनिक मल बनाउन आवश्यक पर्ने फस्फोराइट र डोलोमाइट चट्टानको विस्तृत अध्ययन भइसकेको चार वर्ष बित्दा पनि उत्खनन् प्रक्रिया सुरु हुन नसकेको उल्लेख गरिएको छ । देशले वार्षिक अर्बौं रुपैयाँको रासायनिक मल आयात गरिरहेका बेला बैतडीकै कच्चा पदार्थ उपयोग गरेर स्वदेशमै मल उद्योग सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापन–पत्रमा बैतडीमा युरेनियमको सम्भावना देखिए पनि विस्तृत अध्ययन हुन नसकेको उल्लेख गर्दै खानी तथा भूगर्भ विभागमार्फत थप अनुसन्धान गर्न माग गरिएको छ ।
जिल्लामा रहेका खानीजन्य सम्पदाको उपयोग गर्न सके सुदूरपश्चिमबाट भारततर्फ हुने श्रम पलायन घट्ने, हजारौं रोजगारी सिर्जना हुने र देशकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।
