कुलाउ माविमा नयाँ बि.व्य.स गठन, अध्यक्षमा कालुसिंह जोशी

बैतडीको पञ्चेश्वर गाउँपालिका–०३ कुलाउस्थित कुलाउ माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। विद्यालयमा सम्पन्न अभिभावक तथा सरोकारवालाको भेलाले वडा सदस्य समेत रहेका कालुसिंह जोशीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको प्रधानाध्यापक धनबिर राम सार्कीले जानकारी दिनुभयो ।

समितिको सदस्यमा भानु पार्की, हरू सार्की, सुरेन्द्र सिंह साउँद रहेका छन् भने वडा प्रतिनिधिबाट वडाध्यक्ष मिन बहादुर चन्द चयन हुनुभएको छ। त्यसैगरी शिक्षक प्रतिनिधिबाट प्रमानन्द भट्ट तथा सदस्य सचिवमा प्रधानाध्यापक धनबिर राम सार्की रहनुभएको छ।

नयाँ समिति गठनसँगै विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासले थप गति लिने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूले नयाँ नेतृत्वले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष जोशीले विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासित सिकाइ वातावरण निर्माण तथा आधुनिक शिक्षामा जोड दिँदै विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय समुदायले अनुभवी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सहभागिताले विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छन् ।

Leave A Reply

Your email address will not be published.