प्रहरीभन्दा बढी अभिभावक बनेका चन्दको मेलौलीबाट ऐतिहासिक बिदाई

बैतडीको मेलौली स्थित इलाका प्रहरी कार्यालय तस्वदेहीका प्रमुख (प्रहरी नायब निरीक्षक) नरेन्द्र बहादुर चन्दको भव्य बिदाई गरिएको छ। ३० वर्ष लामो प्रहरी सेवा सफलतापूर्वक पूरा गर्दै अनिवार्य अवकाश प्राप्त गरेका चन्दलाई आज मेलौलीमा बाजागाजासहित सम्मानपूर्वक बिदाई गरिएको हो।

मणिलेक माध्यमिक विद्यालयको गेटबाट सुरु भएको बिदाई र्याली बाजागाजा, फूलमाला र सम्मानका नारासहित मेलौली बजार, कुन्थला बजार हुँदै हरिपुर बजारसम्म पुगेको थियो। बजार क्षेत्रका व्यापारीहरूले खादा, माला र अबिर लगाएर चन्दप्रति सम्मान व्यक्त गरेका थिए।

यसैगरी ब्राईट फ्यूचर एकेडेमी र आमोद इङ्गलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले समेत फूलमालासहित विदाई गरेका थिए। मेलौली धार्मिक सेवा समितिले पनि चन्दको योगदानको खुलेर प्रशंसा गरेको थियो। मेलौली नगरपालिकाको सभाहलमा आयोजित सम्मान कार्यक्रममा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी तथा विभिन्न वडाका वडाध्यक्षहरूले सम्मानपत्र, खादा र मालासहित चन्दलाई सम्मान गरेका थिए। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले “प्रहरी मात्रै होइन, समाज सुधारकका रूपमा समेत चन्दले अमिट छाप छोडेको” बताएका थिए।

अन्तिम चरणमा इलाका प्रहरी कार्यालय तस्वदेहीमै बिदाई कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा सहभागी स्थानीयवासी, बुद्धिजीवी, व्यापारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूले चन्दको आगामी जीवन सुखद, सफल र सम्मानित रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

दुई वर्षभन्दा बढी समय मेलौली क्षेत्रमा कार्यरत रहेका प्रहरी नायब निरीक्षक चन्दले तल्लो स्वराडका तीनवटै पालिकामा शान्ति सुरक्षालाई मजबुत बनाउने काम गरेका थिए। विशेषगरी लागुपदार्थ दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गरी धेरै युवालाई सुधारको बाटोमा ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसैगरी विद्यालय–विद्यालयमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु, समाजमा सकारात्मक सन्देश फैलाउनु, युवालाई अनुशासित र जिम्मेवार बन्न प्रेरित गर्नुजस्ता कामले उनी जनप्रिय प्रहरी अधिकारीका रूपमा चिनिन सफल भएका थिए।

जनताको मन जितेर विदा भएका प्रहरी अधिकारी चन्दप्रतिको सम्मानले मेलौली क्षेत्र नै आज भावुक बनेको थियो। विदा भएर जादा आफुले पाएको सम्मान कहिल्यै नभुल्ने चन्दले बताए। बाकि समयमा पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा समाजिक कार्यमा सरिक भईरहने बताएका थिए। विदाई भएर जादा चन्द भावुक समेत बनेका थिए।

Leave A Reply

Your email address will not be published.