बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले लागू औषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन थालेको छ। जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई लागू औषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक कक्षा दिने गरिएको प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराईले जानकारी दिए।
जिल्लाको दशरथचन्द, पाटन र पुर्चौंडी नगरपालिकाका विभिन्न विद्यालयहरुमा पुगेर लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कक्षा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए। पछिल्लो समयमा किशोरावस्थाका मानिस समेत लागू औषध दुर्व्यसनमा फसेकाले उनीहरुलाई लागू औषधका कारण जीवनमा पर्ने प्रभावका बिषयमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।
युवापुस्तामा बढ्दो दुव्र्यसनको जोखिमलाई मध्यनजर गर्दै विद्यालय, समुदाय र स्थानीय तहसँग सहकार्य गरेर सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रशासनले जनाएको छ। अभियानअन्तर्गत लागू औषधको असर, कानुनी व्यवस्था, स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव तथा समाजमा सिर्जना हुने समस्याबारे जानकारी दिइँदै आएको छ। प्रहरी, स्वास्थ्यकर्मी, शिक्षक तथा सामाजिक संघसंस्थाको सहभागितामा सचेतनामूलक कार्यक्रमहरु भइरहेका छन्।
प्रशासनले अभिभावक, शिक्षक र युवालाई दुव्र्यसनविरुद्ध एकजुट हुन आग्रह गर्दै लागू औषध नियन्त्रणमा सामुदायिक सहकार्य आवश्यक रहेको बताएको छ।