बैतडीको मेलौली नगरपालिकामा स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी एकदिने पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। World Food Programme (विश्व खाद्य कार्यक्रम) को प्राविधिक सहयोग तथा सहजीकरण र मेलौली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको अध्यक्षता, नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख पार्वती बोहरा बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले जानकारी दिनुभयो। अभिमुखीकरण कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, स्थानीय कृषक, विद्यालय प्रतिनिधि तथा विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालय दिवा खाजालाई स्थानीय कृषि उत्पादनसँग कसरी जोड्ने, पोषणयुक्त तथा गुणस्तरीय खाना व्यवस्थापन गर्ने, पालिकाले एकीकृत मेनु तयार गरी सोहीअनुसार विद्यालयमा दिवा खाजा सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले स्थानीय उत्पादनको प्रयोग बढाएर किसानको आयआर्जनमा टेवा पुर्याउनुका साथै विद्यालयस्तरमै पोषण सुधार गर्न सकिने बताउनुभयो। उहाँले स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्न, तरकारी, दाल तथा अन्य कृषि उपज प्रयोग गरी विद्यार्थीलाई स्वस्थ र पोषणयुक्त खाना उपलब्ध गराउने उद्देश्य रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत शर्माले विद्यालय दिवा खाजा कार्यक्रममार्फत स्थानीय उत्पादनको बजार सुनिश्चित हुने विश्वास व्यक्त गरेका थिए। विद्यालयमा स्थानीय परिकार समावेश हुँदा विद्यार्थीको स्वास्थ्य सुधारसँगै स्थानीय कृषि पेशाप्रति आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले आगामी दिनमा विद्यालय दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र स्थानीय उत्पादनमैत्री बनाउने प्रतिबद्धता जनाएको छ।