सर्वसम्मत चयन : भरतपुर माविको अध्यक्षमा पुनः चन्द

बैतडीको मेलौली नगरपालिका–०७ गाउँकोटस्थित भरतपुर माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। सोमबार विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाको भेलाले सर्वसम्मत रूपमा नयाँ समिति चयन गरेको हो।

नयाँ गठित समितिको अध्यक्षमा पुनः बिरेन्द्र बहादुर चन्द चयन हुनुभएको छ। शिक्षा, अनुशासन र विद्यालय विकासमा निरन्तर सक्रिय भूमिका खेलेको भन्दै उहाँलाई पुनः नेतृत्वको जिम्मेवारी दिइएको स्थानीय अभिभावकहरूले बताएका छन्। समितिका सदस्यहरूमा बिरेन्द्र ओझा, नन्दा बडु ओझा र धनपा कुमारी ओड चयन भएका छन्। शिक्षक प्रतिनिधिका रूपमा राम बहादुर चन्द, वडा प्रतिनिधिका रूपमा वडाध्यक्ष रामचन्द्र भट्ट तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक गोकर्ण दयाल चयन हुनुभएको विद्यालयले जनाएको छ।

यसैबीच विद्यालयमा शिक्षक अभिभावक संघ पनि गठन गरिएको छ। संघको संयोजकमा दानि चन्द चयन हुँदा सदस्यहरूमा कृष्ण चन्द, पूर्ण ओझा, वीर राम विक, बाटु पार्कि, धनवीर पार्कि, मिना चन्द र पार्वती दयाल चयन भएका छन्। पदेन सदस्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर चन्द तथा सदस्य सचिवमा राज बहादुर चन्द रहनुभएको छ भने प्रधानाध्यापक गोकर्ण दयाल सदस्यमा चयन हुनुभएको छ।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास, प्रविधिमैत्री शिक्षण तथा विद्यार्थीको नियमितता बढाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले नयाँ नेतृत्वबाट विद्यालयमा थप सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

स्थानीय समुदायको सक्रिय सहभागितासँगै भरतपुर माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित नयाँ समिति अघि बढेको बताइएको छ।

Leave A Reply

Your email address will not be published.