बैतडीको मेलौली नगरपालिकामा स्थानीय कृषि उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले “विद्यालय दिवा खाजाको मेनु स्थानीयकरण” सम्बन्धी एकदिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।
मेलौली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा विश्व खाद्य कार्यक्रम (World Food Programme) को प्राविधिक सहयोग एवं सहजीकरणमा सञ्चालन गरिएको कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्न सके स्थानीय किसान, विद्यार्थी र विद्यालय सबैलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमै उत्पादन हुने खाद्यान्नको प्रयोगले विद्यार्थीको पोषणस्तर सुधार हुनुका साथै गाउँघरको आर्थिक गतिविधि समेत चलायमान बन्ने धारणा राख्नुभयो।
कार्यक्रममा पालिकाभरिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले बताउनुभयो। साथै शिक्षा अधिकृत मनु कुमारी क्षेत्री, निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्की लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गोष्ठीमा विद्यालयहरूमा हाल सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमको अवस्था, पोषणयुक्त खानाको आवश्यकता, स्थानीय उत्पादनको उपयोग तथा विद्यार्थीको स्वास्थ्य अवस्थाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विशेषगरी विद्यालय दिवा खाजाको साप्ताहिक मेनु तयार गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिन निर्देशन समेत गरिएको छ।
तयार गरिएको मेनु अनुसार सोमबार अनिवार्य रूपमा पोषिलो जाउलो तथा वैकल्पिक रूपमा पुरी–तरकारी, मंगलबार क्वाँटी तथा वैकल्पिकमा रोटी–तरकारी, बुधबार गहुँ, मकै वा कोदोको हलुवा–अचार तथा वैकल्पिकमा फलफूल, मासु र चिउरा, बिहीबार आलु खिचडी तथा वैकल्पिकमा भुटेको मकै–भटमास र शुक्रबार उसिनेको आलु–तरकारी तथा वैकल्पिकमा दालभात–तरकारी खुवाइने व्यवस्था गरिएको छ।
नगरपालिकाका अनुसार हाल मेलौलीका विद्यालयहरूमा २ हजार ८ सय ८० विद्यार्थीले दिवा खाजा सुविधा उपभोग गरिरहेका छन्। पोषणयुक्त तथा स्थानीय खाद्य परिकारलाई विद्यालयसँग जोड्दा विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि हुने, कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने र स्थानीय किसानको उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले पनि स्थानीय उत्पादनमा आधारित मेनुले विद्यार्थीको स्वास्थ्य सुधारका साथै स्थानीय संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने बताएका छन्। उनीहरूले विद्यालयमा उपलब्ध स्रोत, अभिभावकको सहभागिता र स्थानीय किसानसँग सहकार्य गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
मेलौली नगरपालिकाले आगामी दिनमा प्रत्येक विद्यालयमा पोषण, सरसफाइ र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ।