बैतडी: संघीय सरकारले हप्तामा दुई दिन शनिबार र आईतवार सार्वजनिक बिदा दिने निर्णय गरेपछि अधिकांश सरकारी कार्यालयहरू दुई दिन बन्द भइरहेका बेला बैतडीको पञ्चेश्वर गाउँपालिकाले भने फरक निर्णय गरेको छ। गाउँपालिकाले अबदेखि आईतवार पनि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएको हो।
गाउँ कार्यपालिकाको बैसाख २८ गते बसेको बैठकको निर्णय अनुसार जेठ १० गतेदेखि लागू हुने गरी आईतवार पनि कार्यालय खुला राखिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। कार्यालयमा बढ्दो कार्यचाप, सेवाग्राहीको भीड तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत बिर सिंह भण्डारीद्वारा हस्ताक्षरित सूचनामार्फत गाउँपालिकाका सबै कर्मचारी, वडा कार्यालय तथा स्वास्थ्य चौकीहरूलाई समेत आईतवार नियमित सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ।
गाउँपालिकाको यो निर्णयसँगै अब स्थानीय नागरिकहरूले साताको अतिरिक्त दिन पनि सेवा पाउने भएका छन्। नागरिकता सिफारिस, सामाजिक सुरक्षा, योजना सम्बन्धि काम, स्वास्थ्य सेवा लगायत अत्यावश्यक कामका लागि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय तहहरूले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न अभ्यास गरिरहेका बेला पञ्चेश्वर गाउँपालिकाको यो निर्णयलाई सेवामैत्री र जनमुखी कदमका रूपमा हेरिएको छ। गाउँपालिकाको निर्णयप्रति स्थानीयवासीले समेत सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।
सुचना!
