डडेल्धुराको अजयमेरु गाउँपालिकाले पालिकाभरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आज एकदिन शोक विदा दिने निर्णय गरेको छ। अजयमेरु गाउँपालिका–१ खतेडास्थित घनघश्या माध्यमिक विद्यालयमा कार्यरत वालविकास सहजकर्ता लक्ष्मी भण्डारीको ३७ वर्षकै अल्पायुमै दुःखद निधन भएपछि गाउँपालिकाले शोक विदा घोषणा गरेको हो।
गाउँपालिका अध्यक्ष उमेश भट्ट विकासका अनुसार स्वर्गीय भण्डारी शिक्षा क्षेत्रकी एक समर्पित, जिम्मेवार र सबैको मन जित्न सफल व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले विद्यालय परिवार मात्र नभई समग्र अजयमेरु क्षेत्र स्तब्ध बनेको बताइएको छ।
स्थानीयका अनुसार भण्डारीको रुखबाट लडेर दुःखद मृत्यु भएको हो। घटनापछि खतेडा क्षेत्र शोकमय बनेको छ भने विद्यालय परिसरमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरू भावुक बनेका छन्। उहाँले बालबालिकाको शिक्षामा पुर्याएको योगदानलाई सम्झँदै धेरैले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
गाउँपालिकाले शोक सन्देश जारी गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।
लक्ष्मी भण्डारीको निधनले अजयमेरुको शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै स्थानीयवासीहरूले उहाँको योगदान लामो समयसम्म स्मरणीय रहने बताएका छन्। अहिले सम्पूर्ण गाउँपालिका क्षेत्र शोक र स्तब्धताको वातावरणमा रहेको जनाइएको छ।
