बैतडीको मेलौलीमा भारी असिनापानी, खेतबारीमा व्यापक नोक्सानी

बैतडीको मेलौली क्षेत्रमा वर्षासँगै परेको भारी असिनापानीले किसानलाई ठूलो मार परेको छ। मेलौलीको भगवती मन्दिर क्षेत्र, खोका बजार, काडा बजार लगायत आसपासका क्षेत्रमा मंगलबार साँझ एक्कासी परेको असिनापानीले खेतबारी सेताम्मे बनेका छन।

विशेषगरी केही दिनअघि मात्रै लगाइएको मकैबालीमा व्यापक क्षति पुगेको स्थानीयहरूले बताएका छन्। असिनासँगै आएको तीव्र वर्षाले सागसब्जी, तरकारी तथा तरकारीका बेर्नासमेत नष्ट भएको छ।

खेतमा उम्रन थालेका बाली असिनाले कुटेपछि किसान थप चिन्तामा परेका छन्। स्थानीय तथा शिक्षक बिरुवा राम लुहारका अनुसार लामो समयदेखि पानीको अभाव झेलिरहेका किसान वर्षाको प्रतीक्षामा थिए।

तर, पानीसँगै आएको ठूलो असिनाले राहतभन्दा बढी क्षति पुर्याएको उहाँले बताउनुभयो। “किसानले ठूलो आशा गरेर लगाएको मकैबाली असिनाले सखाप बनायो, तरकारी र बेर्नासमेत जोगिएनन्,” उहाँले भन्नुभयो। असिनापानीका कारण कतिपय खेतबारीमा लगाइएको बाली ढलेको छ। कृषिमा निर्भर अधिकांश परिवार प्रभावित भएका छन।

मौसममा आएको अचानक परिवर्तनका कारण यस वर्ष खेतीपातीमा थप चुनौती थपिएको किसानहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.