बैतडी: मंगलबार बेलुकी चलेको हावाहुरीले विद्यालयका सोलार पाता उडाउदा ठूलो क्षती भएको छ। हावाहुरीसंगै परेको असिनापानीले भागेश्वर गाउँपालिका १ पत्रमको कैलापाल माविमा जडान गरिएका सोलार पाता उडाउनुकासाथै विद्युतिय उपकरणमा क्षती पुगेको छ।
मंगलबार बेलुकी ५ः३० बजेको समयमा चलेको भिषण हुरीबताससंगै परेको असिनापानीले विद्यालयमा जडान गरिएका सबै सोलार पाता उडाएर क्षती पुगेको स्थानीय लोकेन्द्रबहादुर ठकुराठीले जानकारी दिए। कैलपाल माविमा विद्युत लाईन पुगेको छैन। उनले भने, विद्यालयमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तार हुन नसकेकाले विद्यालयको सम्पूर्ण प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्न सोलार प्रणाली नै मुख्य आधार बनेको थियो।
सोही सोलार प्रणालीको माध्यमबाट विद्यालयमा कम्प्युटर सञ्चालन, कार्यालयका कामकाज, विद्यार्थीहरूको पठन पाठन, प्रिन्ट तथा अन्य अत्यावश्यक कार्यहरू हुँदै आएका थिए। तर आज चलेको भिषण हावाहुरीले विद्यालयमा जडान गरिएका सबै सोलार पाता उडाउनुकासाथै त्यससंग सम्बन्धित सामग्रीहरू पूर्ण रूपमा नष्ट गरिदिएको छ। सोलार पाता उडाएपछि विद्यालयमा हुने विद्युतिय कामकाज ठप्प भएका छन।
विद्यालय अन्धकारमय अवस्थामा पुग्दा दैनिक पठन पाठन र प्रशासनिक कार्य सञ्चालन गर्न कठिनाइ सिर्जना भएको उनले बताए। उनका अनुसार आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रमा रहेको यस विद्यालयकालागि तत्काल मर्मत तथा पुनः जडान कार्य गर्न आफ्नै स्रोतबाट सम्भव छैन।
यस गम्भीर समस्याप्रति सम्बन्धित निकाय, स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, शिक्षा सम्बन्धी कार्यालय तथा विभिन्न सहयोगी संघसंस्थाहरूले विशेष ध्यान दिई यथाशीघ्र आवश्यक सहयोग, राहत तथा सोलार प्रणाली पुनः जडानको व्यवस्था गरिदिन विद्यालय परिवार र अभिभावकहरुले अनुरोध गरिरहेको उनले जानकारी दिए। विद्यालयको शैक्षिक वातावरण जोगाउन र विद्यार्थीहरूको भविष्यलाई असर पर्न नदिन सम्बन्धित निकायले छिटोभन्दा छिटो पहल गर्ने विश्वास लिएको उनले बताए।