बैतडीको मेलौली नगरपालिका–०७ काणा तल्लि डोलका कृषक मोहनसिंह भाटको “तल्डोल तरकारी फलफूल उत्पादन तथा कृषि फर्म” मा भीषण क्षति पुगेको छ। हिजो बेलुका करिब ५ः३० बजेतिर एक्कासी आएको भारी वर्षासँगै परेको असिनापानीले फलफूल तथा कृषि बाली पूर्ण रूपमा नष्ट गरेको हो।
वर्षौंदेखिको मेहनतले तयार पारेको फलफूल बगैंचा केही मिनेटमै सखाप भएपछि कृषक भाट अहिले गहिरो चिन्तामा परेका छन्। फर्ममा फल लागिरहेका सुन्तलाका २८० बोट, दशहरी जातका आँपका ९० बोट, मौसमी (माल्टा) का ६० बोट, कागतीका ६० बोट, केराका ५०० बोट तथा चुकका २० बोटमा पूर्ण क्षति पुगेको बताइएको छ।
असिनापानीले फल झारिदिनुका साथै बोटबिरुवा नै भाँचिएर नष्ट भएपछि लाखौं रुपैयाँ बराबरको क्षति भएको कृषक भाटले बताएका छन्। “केही समयमै राम्रो आम्दानी हुने आशा थियो, तर एक्कासी आएको असिनापानीले सबै सपना चकनाचुर बनायो,” उनले दुःख व्यक्त गरे। क्षतिपूर्तिको माग गर्दै भाटले आज वडा कार्यालयबाट सिफारिस ल्याई मेलौली नगरपालिकामा उचित राहत तथा क्षतिपूर्तिका लागि निवेदनसमेत दिएका छन्।
यता मेलौली नगरपालिकाले पनि हिजोको असिनापानीबाट भएको क्षतिको विवरण संकलन गर्न सबै वडालाई निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माले प्रत्येक वडाबाट क्षतिको तथ्यांक माग गरिएको जानकारी दिएका छन्।
त्यस्तै, असिनापानीले यस क्षेत्रमा भर्खरै लगाइएको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन्। किसानहरूका अनुसार खेतभरि उम्रिँदै गरेको मकै असिनाले थिचिएपछि उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ।
स्थानीय कृषकहरूले प्राकृतिक विपत्तिबाट पीडित किसानलाई तत्काल राहत, क्षतिपूर्ति तथा कृषि पुनर्स्थापनाका कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन।