पञ्चेश्वरमा दुईदिने निःशुल्क आँखा सल्यक्रिया शिविर सञ्चालन हुने

बैतडीको पञ्चेश्वर गाउँपालिकामा दुईदिने निःशुल्क आँखा सल्यक्रिया शिविर सञ्चालन हुने भएको छ। यही जेठ २१ र २२ गते कुलाउ स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने भएको हो।

शिविरमार्फत गाउँघरमै विशेषज्ञ सेवा उपलब्ध गराइने भएपछि स्थानीयवासी निकै उत्साहित बनेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सयौँ बिरामीले लाभ लिने अपेक्षा गरिएको छ।

शिविरमा निःशुल्क आँखा जाँच, औषधि वितरण, मोतिबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरूको निःशुल्क सल्यक्रिया गरिनेछ। साथै सल्यक्रिया गरिएका बिरामीलाई निःशुल्क औषधि र कालो चस्मा समेत वितरण गरिने पोषण सहजकर्ता नारायण राम सार्कीले जानकारी दिनुभयो।

यसैगरी आवश्यक बिरामीलाई नजिक हेर्न मिल्ने चस्मा पनि उपलब्ध गराइने जनाइएको छ। च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोग तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुन लागेको हो।

स्वास्थ्य सेवा पहुँचभन्दा टाढा रहेका नागरिकलाई लक्षित गर्दै शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। यसैबीच पञ्चेश्वर गाउँपालिका–०५ र ०६ का बिरामीहरूका लागि यही जेठ १९ गते गणमेश्वर आधारभूत विद्यालयमा निःशुल्क मोतिबिन्दु छनोट शिविर सञ्चालन गरिनेछ।

गाउँपालिकाले शिविरमा उपस्थित भई सेवा लिन सम्पूर्ण स्थानीयवासीलाई अनुरोध गरेको छ। गाउँमै विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध हुने भएपछि आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

स्थानीय स्तरमै निःशुल्क सल्यक्रिया सेवा सञ्चालन हुनु पञ्चेश्वरवासीका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.