बैतडीको मेलाैली नगरपालिका–०७ मा रहेको ब्राईट फ्यूचर ऐकेडेमी ले १८ औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। “विविधतामा एकता, हाम्रो नेपालको विशेषता” भन्ने मूल नाराका साथ विद्यालयले प्रभातफेरी, ब्यानर तथा प्लेकार्ड प्रदर्शनसहित विविध कार्यक्रम आयोजना गरेर गणतन्त्र दिवसलाई उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको हो।
विद्यालय परिसरबाट सुरु गरिएको प्रभातफेरी कार्यक्रममा विद्यार्थीहरूले राष्ट्रिय एकता, लोकतन्त्र, गणतन्त्र तथा सामाजिक सद्भाव झल्कने नाराहरू लेखिएका प्लेकार्ड बोकेर सहभागिता जनाएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीहरूको उत्साह, अनुशासन र देशप्रेमले सम्पूर्ण वातावरण नै देशभक्तिमय बनेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती कुमारी कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने मणिलेक बहुमुखी क्याम्पसका उपप्राध्यापक भिमसिह धामी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै हिस्टुन केन्द्रीय कमिटी सचिव अर्जुन कुवरको विशेष आतिथ्य रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले गणतन्त्रले नेपाली जनतालाई अधिकार, स्वतन्त्रता र समानताको अनुभूति दिलाएको उल्लेख गर्दै नयाँ पुस्तालाई लोकतान्त्रिक मूल्य र राष्ट्रियताको भावना सिकाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताएका थिए।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा देशभक्ति गीत, नाराबाजी तथा प्रेरणादायी मन्तव्यले थप आकर्षण थपेको थियो।
विद्यालयले बेला–बेलामा राष्ट्रिय दिवस, सामाजिक सचेतनामूलक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको र यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन तथा राष्ट्रिय भावना विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको जनाएको छ।