मेलौली नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

बैतडीको मेलौली नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मेलौली नगरपालिकाको आयोजना तथा सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख भिम बहादुर चन्द, नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखा प्रमुख तथा कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, व्यापारी तथा विभिन्न वडाबाट आएका सेवाग्राही नागरिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृत शर्माले नगरपालिकाले गरेका विकास निर्माण, सेवा प्रवाह, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका क्षेत्रका गतिविधि तथा उपलब्धिबारे विस्तृत जानकारी गराउनुभएको थियो। सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले विकास निर्माणका योजना, सेवा प्रवाहको प्रभावकारिता, पूर्वाधार विकास, कृषि तथा रोजगार, खानेपानी, सडक, शिक्षा र स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए।

सहभागीहरूले नगरपालिकाको कामकार्वाही अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सुझावसमेत दिएका थिए। नागरिकहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुख, नगर उपप्रमुख तथा सम्बन्धित वडाध्यक्षहरूले दिएका थिए।

जनप्रतिनिधिहरूले नागरिकका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप बलियो बनाउने बताउनुभयो। उहाँले नगरपालिकाले जनताको आवश्यकता र सुझावका आधारमा विकासका कार्यक्रम अघि बढाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले स्थानीय सरकारका कामकार्वाहीबारे प्रत्यक्ष जानकारी प्राप्त गर्नुका साथै आफ्ना गुनासा, सुझाव र जिज्ञासा राख्ने अवसर पाएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रमले नगरपालिकाको सेवा प्रवाह र विकास गतिविधिलाई नागरिकमाझ थप पारदर्शी बनाउनुका साथै जनउत्तरदायी स्थानीय शासन प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।

Leave A Reply

Your email address will not be published.