बैतडीकी छोरीहरूको शानदार प्रदर्शन, राष्ट्रपति रनिङ शिल्डमा तीन स्वर्ण

आजदेखि काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा बैतडीका तीन प्रतिभाशाली चेलीले उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेशलाई तीन स्वर्ण पदक दिलाएका छन्।

प्रतियोगिताको सटपुट विधामा पुर्चौंडी नगरपालिकाकी पुजा साउदले स्वर्ण पदक जितेकी छन्। यस्तै पुर्चौंडीकै अस्मिता धानुकले १५०० मिटर दौडमा स्वर्ण पदक हात पार्दै प्रदेशको गौरव बढाएकी छन्।

दोगडाकेदार गाउँपालिकाकी सुनिता पार्कीले हाइजम्पतर्फ उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएकाे बैतडी जिल्ला खेलकुद समिति अध्यक्ष भूपेन्द्र चन्दले बताउनुभयो। बैतडीका खेलाडीहरूले राष्ट्रियस्तरको प्रतियोगितामा निरन्तर उत्कृष्ट नतिजा निकाल्दै जिल्लाको खेलकुद पहिचानलाई थप उचाइमा पुर्याइरहेका छन्।

सुदूरपश्चिमका लागि प्राप्त तीन स्वर्णमध्ये सबै स्वर्ण बैतडीका खेलाडीबाट आउनु जिल्लाका लागि गौरवको विषय बनेको छ। दुर्गम जिल्ला भए पनि बैतडीमा खेलप्रति युवायुवतीको आकर्षण बढ्दै गएको र त्यसको प्रतिफल राष्ट्रिय प्रतियोगितामा देखिन थालेको खेलकुदकर्मीहरूको भनाइ छ।

प्रतिभा, मेहनत र अनुशासनका कारण बैतडीका खेलाडीहरूले पछिल्ला वर्षहरूमा एथलेटिक्सलगायत विभिन्न खेलमा उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। तीन चेलीको यो ऐतिहासिक उपलब्धिले बैतडी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेशलाई समेत गौरवान्वित बनाएको छ।

स्थानीय तह, विद्यालय, प्रशिक्षक तथा अभिभावकको सहयोगले खेलाडीहरूलाई थप हौसला मिलेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ। बैतडीका यी चेलीहरूले राष्ट्रिय मञ्चमा जिल्लाको नाम चम्काउँदै नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा समेत दिएका छन्।

Leave A Reply

Your email address will not be published.