बैतडीमा जातीय विभेद अन्त्यका लागि सरोकारवालाको प्रतिबद्धता

बैतडीमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। दलित समाज विकास मञ्च बैतडीको आयोजनामा अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम गरि सम्पन्न गरिएको हो।

मञ्चकी अध्यक्ष सरस्वती नेपालीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको हाे। कार्यक्रममा करिब १२० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जातीय विभेद तथा छुवाछूत अझै पनि समाजका केही क्षेत्रमा चुनौतीका रूपमा रहेको भन्दै यसको पूर्ण अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।

संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने मञ्चकी अध्यक्ष नेपालीले बताउनुभयो। छलफलकै क्रममा समतामूलक र सभ्य समाज निर्माणका लागि कानुनी व्यवस्था मात्र नभई व्यवहारिक परिवर्तन आवश्यक रहेको नेपालीले बताउनुभयो।

अन्तरक्रियामा दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, प्रहरी नायब उपरीक्षक दीपक राय, सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुबर, सामाजिक विकास कार्यालय प्रमुख शंकर जोशी, दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयाल, अधिकारकर्मी देबु ठगुन्ना, राधिका भट्ट लगायतले जातीय विभेदविरुद्ध सामूहिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा किशोर–किशोरी, अभिभावक, महिला तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

सहभागीहरूले जातीय भेदभावमुक्त समाज निर्माणका लागि शिक्षा, जनचेतना र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका थिए। कार्यक्रममा जातीय भेदभाव तथा छुवाछूतका घटनाहरू न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज र समुदायबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

साथै विभेदरहित, समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम संयोजक सुरेश सेरलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार दिवसले सामाजिक सद्भाव, समानता र मानव अधिकारप्रति नागरिकहरूको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Leave A Reply

Your email address will not be published.