बैतडीको शिवनाथ पूर्ण खोप सुनिश्चित, स्वयंसेविका सम्मानित

बैतडीको शिवनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत निर्धारित सबै मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो।

गाउँपालिकाका ६ वटै वडालाई यसअघि पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिसकेपछि गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताउनुभयो। गाउँपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका २ सय ६६ जना तथा १६ महिनादेखि २३ महिनासम्मका २ सय ५४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता प्राप्त गरेको हो।

बालबालिकाहरूलाई बिसिजी, डिपिटी, हेपबि–हिब, पिसिभी, पोलियो, रोटा, एआइपिभी, पेन्टाभ्यालेन्ट, एमआर, जेई लगायतका खोपहरू राष्ट्रिय खोप तालिका अनुसार नियमित रूपमा प्रदान गरिँदै आएको छ। प्रत्येक वर्ष लक्षित उमेर समूहका बालबालिकाले पूर्ण खोप पाए–नपाएको सुनिश्चित गर्दै पूर्ण खोप पालिका घोषणा गर्ने व्यवस्था रहेको छ।

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको बताउनुभयो। उहाँले पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्य सेवाको गुणस्तर सुधारमा जोड दिइने बताउनुभयो।

यसैबीच गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार तथा जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई नगदसहित सम्मान गरेको छ। गाउँपालिकाभरिका ४६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ७ हजार ५ सय रुपैयाँ नगद तथा दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष सकुन्तला साउदले बताउनुभयो।

स्वास्थ्य क्षेत्रको आधारस्तम्भका रूपमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, पोषण, सुरक्षित मातृत्व तथा जनचेतनामूलक कार्यक्रममार्फत समुदायमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गाउँपालिकाले उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ।

नागरिकको घरदैलोमै स्वास्थ्य सेवा र स्वास्थ्य सचेतना पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिका अतुलनीय रहेको बताउँदै आगामी दिनमा पनि उनीहरूको मनोबल उच्च बनाउन आवश्यक सहयोग र सम्मानलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.