पञ्चेश्वरमा आँखा उपचार केन्द्र सञ्चालन, ग्रामीण बासिन्दालाई राहत

बैतडीको पञ्चेश्वरमा आँखा सम्बन्धी स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नं। ३ कुलाउमा आज एक कार्यक्रमका बीच केन्द्रको औपचारिक शुभारम्भ गरिएको हो।

पञ्चेश्वर गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसनको संयुक्त सहकार्यमा स्थापना गरिएको उक्त केन्द्रबाट स्थानीय नागरिकले आधारभूत आँखा परीक्षण, परामर्श तथा विभिन्न आँखा रोगको प्रारम्भिक उपचार सेवा गाउँमै प्राप्त गर्न सक्ने भएका छन्।

केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अझ प्रभावकारी बनाउने उद्देश्यका साथ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो। उहाँले आँखासम्बन्धी सामान्य समस्याका लागि समेत जिल्ला सदरमुकाम वा अन्य शहर धाउनुपर्ने बाध्यता अब कम हुने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष चन्दले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पहल जारी रहने बताउनुभयो।

स्थानीयवासीले केन्द्र स्थापना भएपछि आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने झन्झट कम हुने भन्दै खुसी व्यक्त गरेका छन्। विशेषगरी ज्येष्ठ नागरिक, विद्यार्थी तथा आर्थिक रूपमा कमजोर परिवारलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, च्यारिटी हेल्थ फाउन्डेसनका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो। गाउँपालिकाका अनुसार केन्द्रमार्फत नियमित आँखा परीक्षण, मोतियाबिन्दु तथा अन्य आँखा रोगको पहिचान, आवश्यक परामर्श र थप उपचारका लागि रेफरल सेवा उपलब्ध गराइनेछ। साथै आगामी दिनमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क आँखा शिविर सञ्चालन गर्ने योजना समेत रहेको जनाइएको छ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि पञ्चेश्वर क्षेत्रका नागरिकलाई सहज, सुलभ र नजिकैबाट स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ। ग्रामीण बस्तीमै स्वास्थ्य सेवा विस्तार गर्ने अभियानअन्तर्गत स्थापना गरिएको यो केन्द्र स्थानीय स्वास्थ्य सेवाका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.