केदार आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन, अध्यक्षमा भाट्

बैतडीको मेलौली नगरपालिका–०३ कुजागाडमा रहेको केदार आधारभूत विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। अभिभावक तथा सरोकारवालाहरूको भेलाबाट सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको विद्यालयले जनाएको छ।

नयाँ समितिको अध्यक्षमा जयसिंह भाट् चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा जनकसिंह भाट्, दानीराम कामी र जानकी चन्द चयन हुनुभएको विद्यालयले जानकारी दिएको छ।

समितिको पदेन सदस्यमा वडा नम्बर ३ का वडाध्यक्ष गगनसिंह भाट् रहनुभएको छ भने शिक्षक प्रतिनिधिका रूपमा सुमा कुमारी चौधरी चयन हुनुभएको छ। विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रसाद पैंतोला सदस्य सचिव रहनुभएको छ।

भेलामा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी भर्ना तथा नियमितता, भौतिक पूर्वाधार विकास तथा विद्यालयको समग्र शैक्षिक सुधारका विषयमा समेत छलफल भएको थियो। नवगठित समितिले विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित अध्यक्ष भाट्ले विद्यालयको शैक्षिक वातावरण सुधार, अभिभावकसँगको समन्वय र विद्यार्थीको सिकाइ उपलब्धि बढाउन प्राथमिकताका साथ काम गर्ने बताउनुभयो। सहभागीहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.