बैतडीको मेलौलीमा अगुवा कृषक तालिम सुरु भएको छ। आजदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुने जनाएको छ।
मेलौली नगरपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) को आयोजनामा सञ्चालन गरिएको तालिममा नगरपालिकाका ९ वटै वडाबाट २–२ जना गरी १८ जना अगुवा कृषक सहभागी भएका छन्।
जलवायु उत्थानशील तथा समावेशी कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मेलौली नगरपालिका परियोजना कार्यान्वयन इकाईका अधिकृत पूर्णबहादुर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार बदलिँदो जलवायुका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीहरूलाई न्यूनीकरण गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषकहरूलाई आवश्यक ज्ञान तथा सीप प्रदान गरिनेछ।
तालिमको उद्घाटन मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टराईले गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा कृषि शाखा प्रमुख अनिल पन्तलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा जलवायु परिवर्तनको प्रभाव, जलवायुमैत्री खेती प्रणाली, उन्नत कृषि प्रविधि, कृषि व्यवसाय व्यवस्थापन, बाली संरक्षण, माटो व्यवस्थापन तथा कृषिमा अनुकूलनका उपायबारे सहजीकरण गरिने जनाइएको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहभागी कृषकहरूले आफ्नो समुदायमा समेत विस्तार गर्ने अपेक्षा गरिएको छ।