भरतपुर माविमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा प्रदिप चन्द चयन

बैतडी : मेलौली नगरपालिका–७ गाउँकोटस्थित भरतपुर माध्यमिक विद्यालयमा विद्यार्थीहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन जुनियर रेडक्रस सर्कल समिति गठन गरिएको छ।

नवगठित जुनियर रेडक्रस सर्कल समितिको अध्यक्षमा प्रदिप चन्द चयन भएका छन्। समितिको उपाध्यक्षमा अर्पण चन्द, सचिवमा रविन चन्द, सह–सचिवमा निर्मला ओझा र कोषाध्यक्षमा सम्झना रावत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा नविन ओजी, महेश दत्त ओझा, अरूण चन्द, आयुष चन्द, सुवास चन्द र पुजन चन्द चयन हुनुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो।

विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, अनुशासन, सहकार्यको भावना तथा सामाजिक सेवाप्रति जिम्मेवारी विकास गर्ने उद्देश्यले जुनियर रेडक्रस सर्कल गठन गरिएको जनाएको छ। समितिले विद्यालय तथा समुदायस्तरमा सरसफाइ, स्वास्थ्य सचेतना, रक्तदान प्रोत्साहन, विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

यसैबीच विद्यालयमा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र अतिरिक्त क्रियाकलापलाई व्यवस्थित बनाउन सदन विभाजन पनि गरिएको छ। विद्यालयका विद्यार्थीहरूलाई खप्तड, शुक्लाफाँटा, बर्दिया र चितवन गरी चार सदनमा विभाजन गरिएको विद्यालय प्रशासनले जनाएको छ। सदनमार्फत हाजिरीजवाफ, वक्तृत्वकला, खेलकुद, सांस्कृतिक तथा अन्य सिर्जनात्मक प्रतियोगिताहरू सञ्चालन गरिनेछन्।

त्यसैगरी विद्यार्थी र शिक्षकहरूको सहभागितामा १४ सदस्यीय बालक्लब समिति समेत गठन गरिएको छ। बालअधिकार संरक्षण, नेतृत्व विकास, विद्यालय सुधार तथा सिर्जनात्मक कार्यक्रम सञ्चालनमा बालक्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ।

गठन गरिएका समितिहरूको विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, सामाजिक उत्तरदायित्व र समूहमा काम गर्ने सीपको विकास हुने प्रधानाध्यापक गाेकर्ण दयालले बताउनुभयो। प्रधानाध्यापक दयालले विभिन्न रचनात्मक तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए।

विद्यालयमा गठन भएका यी संरचनाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.