भिम नाथको नेतृत्वमा रास्वपा बैतडीको नयाँ कार्यसमिति चयन

बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ। शनिबार पाटनमा सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले भिम नाथको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए।

अधिवेशनले नाथलाई नै सभापतिमा दोहर्याएको छ। अन्य पदमा धेरै आकांक्षी भएपनि छलफलपछि सर्वसम्मत रुपमा समिति गठन गरिएको जोशीले बताए। उक्त कार्यसमितिको उपसभापतिमा हेमन्तकुमार ऐर, सचिवमा हरिश जोशी र सहसचिवमा जनकबहादुर गडाल चयन भएका छन्।

यस्तै सदस्यहरुमा शालिभानसिंह धामी, पूजा महर, करणसिंह सुतार, मानमती नाथ, सुरेश बिष्ट र बबिता साउँद चयन भएका छन्। कोषाध्यक्ष भने पछि कार्यसमितिले मनोनयन गर्ने संस्थापक महामन्त्री जोशीले बताए।

रास्वपाको नयाँ कार्यसमितिले संगठन विस्तारको काम गर्ने सभापति नाथले बताए। पार्टीको संगठनलाई बलियो, चुस्तदुरुस्त बनाउन लागिपर्ने उनले बताए। पार्टीको नयाँ कार्यसमितिले संगठनलाई अझ सुदृढ, गतिशील,प्रभावकारी र उदाहरणीय बनाइने उपसभापति हेमन्तकुमार ऐरले बताए। सुशासन, समृद्धि र स्वाभिमानको अभियानलाई अझै मजबुत बनाइने उनले बताए।

यसअघि अधिवेशनको उद्दघाटन सत्रमा प्रतिनिधि सभा सदस्य एवं रास्वपा नेता हरिमोहन भण्डारी लगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.