मेलौलीमा अगुवा कृषक तालिम सम्पन्न, कृषि सामग्री वितरण

बैतडीको मेलौली नगरपालिकामा सञ्चालन गरिएको तीनदिने अगुवा कृषक तालिम सम्पन्न भएको छ।

मेलौली नगरपालिका र जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) को आयोजनामा सञ्चालन भएको तालिम आज सम्पन्न गरिएको हो। नगरपालिकाका ९ वटै वडाबाट २–२ जना गरी १८ जना अगुवा कृषकको सहभागिता रहेको तालिम जलवायु उत्थानशील तथा समावेशी कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलौली नगरपालिका परियोजना कार्यान्वयन इकाईका अधिकृत पूर्णबहादुर चन्दले जानकारी दिनुभयो।

उहाँका अनुसार बदलिँदो जलवायुका कारण कृषि क्षेत्रमा देखिएका चुनौतीहरूलाई न्यूनीकरण गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक ज्ञान, सीप तथा प्रविधिबारे कृषकहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका क्रममा जलवायु अनुकूल कृषि प्रणाली, बीउ व्यवस्थापन, जैविक विषादी निर्माण तथा प्रयोग, बाली संरक्षण, कृषि व्यवसाय व्यवस्थापनलगायत विषयमा सहजीकरण गरिएको थियो।

तालिममा सहभागी कृषकहरूलाई बीउबिजन, जैविक विषादी बनाउने ड्रम, हजारी, स्प्रेयर लगायतका कृषि सामग्री समेत वितरण गरिएको आयोजकले जनाएको छ। प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी अन्य कृषकहरूलाई समेत जानकारी हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

तालिम समापन कार्यक्रममा परियोजना सहायता सल्लाहकार अनुपमा शर्मा पनि सहभागी हुनुभएको थियाे। समापन कार्यक्रममा वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै कृषि क्षेत्रलाई थप व्यवसायिक, उत्पादनमुखी र दिगो बनाउन यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.