मेलौलीमा उपभोक्ता समितिका पदाधिकारीलाई लेखा व्यवस्थापन तथा खरिद तालिम

बैतडी: मेलौलीमा उपभोक्ता समितिका पदाधिकारीलाई लेखा व्यवस्थापन तथा खरिद तालिम सञ्चालन गरिएको छ। खानेपानी तथा सिँचाइ योजनासँग सम्बन्धित उपभोक्ता समितिका पदाधिकारीहरूका लागि बाह्य निर्माण सामग्री खरिद तथा लेखा व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु गरिएको हाे।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका तथा जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना (LACC Project) कार्यान्वयन इकाई बैतडीको संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिम मेलौली नगरपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ।

तालिममा मेलौली नगरपालिकाका १६ जना, शिवनाथ गाउँपालिकाका २५ जना र पञ्चेश्वर गाउँपालिकाका २८ जना गरी ६९ जना उपभोक्ता समितिका पदाधिकारीहरूको सहभागिता रहेको छ। योजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शी खरिद प्रक्रिया तथा व्यवस्थित वित्तीय व्यवस्थापनमा सहभागीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना पञ्चेश्वरका प्राविधिक प्रेम सार्कीले बताउनुभयो।

मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्दको अध्यक्षतामा सुरु भएको तालिममा सहभागीहरूलाई सार्वजनिक खरिद प्रक्रिया, निर्माण सामग्रीको गुणस्तर परीक्षण, लागत अनुमान अनुसार खरिद व्यवस्थापन, लेखा अभिलेख राख्ने विधि, खर्च व्यवस्थापन तथा वित्तीय पारदर्शिताका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले विकास निर्माणका योजनाहरूलाई गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउन उपभोक्ता समितिका पदाधिकारीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गरी योजनाको सफल कार्यान्वयनमा योगदान पुर्‍याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

आयोजकका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिमले उपभोक्ता समितिका पदाधिकारीहरूको प्राविधिक तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी खानेपानी तथा सिँचाइ योजनाहरूको दिगो र प्रभावकारी सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.