बैतडी:मेलौलीमा प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि अभिभावक शिक्षा सम्बन्धी दुईदिने तालिम आजबाट सुरु भएको छ। सामाजिक विकास कार्यालय बैतडीको आयोजनामा मेलौली नगरपालिकाको सभाहलमा तालिम सञ्चालन गरिएको हो।
तालिमको उद्घाटन सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकर दत्त जोशीको अध्यक्षता तथा मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा मेलौली नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
तालिममा मेलौली नगरपालिकाभर कार्यरत प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरूको सहभागिता रहेको छ। बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउने, सकारात्मक पालनपोषणका अभ्यास प्रवर्द्धन गर्ने तथा बालमैत्री सिकाइ वातावरण निर्माणमा सहजकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सामाजिक विकास कार्यालयले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भीम बहादुर चन्दले बालबालिकाको भविष्य निर्माणमा प्रारम्भिक बालविकास शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले अभिभावकलाई समेत सचेत र जिम्मेवार बनाउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शंकर दत्त जोशीले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासमा अभिभावक शिक्षाको विशेष महत्व रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो।
दुई दिनसम्म सञ्चालन हुने तालिममा अभिभावक शिक्षाको अवधारणा, सकारात्मक अभिभावकत्व, बाल अधिकार, बाल संरक्षण, बालमैत्री सिकाइ वातावरण निर्माण तथा बालबालिकाको सर्वाङ्गीण विकाससँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिने जनाइएको छ।
तालिमले प्रारम्भिक बालविकास केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा अभिभावक र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।