मणिलेक क्याम्पसका माग सम्बोधन गर्न सांसद भण्डारीलाई स्ववियुको ज्ञापनपत्र

बैतडी: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मणिलेक बहुमुखी क्याम्पसले बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद हरिमोहन भण्डारीलाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ।

बिहीबार स्ववियुको टोलीले सांसद भण्डारीलाई क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि आवश्यक पहल गर्न आग्रह गर्दै ज्ञापनपत्र हस्तान्तरण गरेको हो। ज्ञापनपत्रमा क्याम्पसका लागि आवश्यक आधुनिक भवन निर्माण, व्यवस्थित पुस्तकालय स्थापना, विज्ञान प्रवर्द्धन कार्यक्रम सञ्चालन, कम्प्युटर प्रयोगशालाको व्यवस्था, मणिलेक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि उच्च शिक्षा (बीई) को पढाइ मणिलेक बहुमुखी क्याम्पसमै सञ्चालनको पहल गर्नुपर्ने माग राखिएको छ।

यस्तै, क्याम्पसमा स्नातकोत्तर तहको पढाइ सञ्चालनका लागि उपयुक्त कदम थाल्नुपर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, खानेपानी तथा शौचालय व्यवस्थापन गर्नुपर्ने तथा प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ। उल्लेखित मागहरूलाई सकारात्मक रूपमा ग्रहण गरी सम्बन्धित निकायसँग समन्वय तथा आवश्यक पहल गरिदिन आग्रह गरिएको स्ववियु सभापति मनोज दत्त ओझाले जानकारी दिनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद भण्डारी यतिबेला पार्टीको जिल्ला अधिवेशनका सिलसिलामा गृहजिल्ला बैतडीमा आउनुभएको हाे। अधिवेशनका विभिन्न कार्यक्रमसँगै उहाँ तल्लो स्वराड क्षेत्रका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिक तथा सरोकारवालासँग भेटघाटमा समेत व्यस्त रहनुभएको छ।

स्ववियुले क्याम्पसको गुणस्तरीय शैक्षिक विकास र विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आफ्ना मागहरू सम्बोधन हुनुपर्नेमा जोड दिएको छ। सांसद भण्डारीले पनि ज्ञापनपत्रमा उठाइएका विषयहरू अध्ययन गरी सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

ज्ञापनपत्र!

Leave A Reply

Your email address will not be published.